अवदेखि सवै जिल्लामा विषेशज्ञ चिकित्सक र आकस्मीक शल्यक्रिया सेवा पाईने

देशभरका थप १३ जिल्ला अस्पतालहरुमा आगामी फागुन १ गते देखि नै विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा संचालन हुने भएको छ ।अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ता भित्रमा सेवा सुरु भईसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सम्मपनि विषेशज्ञ चिकित्सक र आकस्मीक शल्यक्रिया सेवा नभएका सवै जिल्ला अस्पतालहरुमा सेवा सुरु गर्ने निर्णय मन्त्रालयले बुधबार गरेको मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।एक गते देखि सेवा सुरु हुने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, गोर्खा, अर्घाखाँची, उदयपूर, धनकुटा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङको बुर्तिवाङ रहेका छन् ।
विभिन्न स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरिय निर्णय गरेर त्यसका लागि आवश्यक व्यवस्था मिलाउनु भएको हो ।

मन्त्रालयको निर्णय अनुसार, अवदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने लामिछानेले बताउनु भयो ।अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने भएको छ । सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय एक संयन्त्र समेत गठन गर्ने व्यवस्था गरिएको छ ।मन्त्रालयको यो निर्णयसँगै फागुनको पहिलो हप्ता भित्रमा देशभरका सवै जिल्ला अस्पतालहरुमा चौविसै घण्टा बर्षभरी विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा संचालन हुने भएको छ ।