औषधिको मुल्य सस्तो बनाउन विश्व समुदायसंग स्वास्थ मन्त्रीको अपील

जेष्ठ ९, २०७४- स्वास्थ्य मन्त्री गगन थापाले अल्प र न्युन विकसित मुलुकको नागरिकका लागि औषधिको मुल्य सस्तो बनाउन विश्व समुदायसंग अपील गरेका छन् । नेपालसहित १ सय ९४ मुलुक सहभागी रहेको ७० औं विश्व स्वास्थ्य सभामा विभिन्न ऐजेन्सी, भेटघाट, वार्ताहरूमा आधिकारिक निकायहरुसंग उनले उक्त अपील गरेका हुन् ।

विश्व स्वास्थ्य सगठन (डब्लुएचओ) ले विश्वकै स्वास्थ्य को विभिन्न पक्षमा रणनीति, हालको आवश्यकता, प्राथमिकतालगायतका निर्धारण गर्न वर्षेनी विश्व स्वास्थ्य सभाको आयोजना गर्दै आएको छ । डब्लुएचओले यस पटक अगामी पाँच बर्षका लागि नयाँ महानिर्देशकसमेत चयन गर्दैछ। थापाले जटिल रोग र चिकित्सकीय अवस्थामा उपयोग गरिने औषधिको मूल्य नेपाललगायतका अल्पविकसित मुलुकका आमनागरिकले किन्न सक्ने स्थिति नरहेको औल्याउँदै त्यस्तो औषधीको उपयोग सबैको लागि सुनिश्चित गर्न विशेष पहल गर्न सबैको ध्यानाकर्षण समेत गराए ।

उनले मंगलबार कान्तिपुरसंग कुरा गर्दै नेपाल सरकारले औषधिको मुल्य हालको दाँजोमा आधाभन्दा पनि बढी घटाउन सक्ने दाबी गरे ।’हामीले भारत, बंगलादेशका स्वास्थ्य मन्त्री औषधि कम्पनीलगायतकासँग सभाकै क्रममा औषधिको मुल्यमा उल्लेख्य कमी ल्याउन द्विपक्षीय कुराकानी गर्‍यौं,’ उनले भने, ‘हामीले शुरू गरेको पहल र प्रकृयालाई जारी राख्दा सबै जसो औषधिको मुल्यमा आधाभन्दा बढी र केहीको त कल्पनै गर्न नसकिने गरी कमी आउनेछ।’

भारतीय स्वास्थ्य मन्त्री जेपी नड्डाले थापासंगको द्विपक्षीय वार्तामा नेपाललाई अतिसस्तो मुल्यमा भारतीय नागरिकको जतिकै मुल्यमा निर्वाध आपूर्ति गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

भारत सरकारले हाल जनऔषधालयमार्फत आफैंले थोकमा सस्तो दरमा औषधि खरिद गरेर धेरै न्युन मुल्यमा बेच्ने गरेको छ । नड्डाले थापासंग नेपालको वर्षेनी औषधिको आवश्यकता बारे विस्तृत विवरण पठाउन आग्रह समेत गरेका छन् ।

‘हामी छिटै अत्यन्त न्युन मूल्यमा औषधl आपूर्तिको लागि भारतीय पक्षसंग समन्वय गर्न स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूलाई भारत पठाउने छौं,’ थापाले भने ।उनका अनुसार बंगलादेशले समेत अतिसस्तो मुल्यमा औषधि आपूर्ति गर्न वचन दिएकोले छिटै प्रकृया अगाडि बढाइने छ।

विश्व स्वास्थ्य सभा कै क्रममा बहुराष्ट्रिय औषधि कम्पनी नोभार्टिससंग समेत अतिसस्तो मुल्यमा अत्याधुनिक महंगो औषधि आपूर्तीबारे थापाले द्विपक्षीय कुराकानी गरेका थिए ।

नोभार्टिसले नेपाललाई ३० प्रकारको औषधि एक महिनाको मात्रा (डोज) १ डलर तिर्ने गरी उपलब्ध गराउने वचन दिएको छ । यसमा केही औषधि एक महिनाको डोजलाई ९० डलरसम्म पर्ने रहेको छ । यस अन्तर्गत मृगौला प्रत्यारोपण पछि खानु पर्ने अतिमंहगो ‘इम्युनो सप्रसेन्ट ड्रग’ लगायतका अन्य महंगो औषधिहरू रहेका छन् ।’सरकारले मृगौला प्रत्यारोपण निशुल्क गराएपछि प्रत्यारोपण गराएकाहरूले जीवनभरी नै खानु पर्ने औषधि को लागि मासिक २०/३० हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता हामी अन्त गर्दैछौं,’ थापाले भने, ‘औषधि कम्पनी नोभार्टिससंगको सहकार्यमा यो सम्भव हुन्छ ।’

स्वास्थ्य क्षेत्रमा अन्य सकारात्मक परिवर्तनसंगै सबै नेपालीले राहत अनुभव गर्ने गरी औषधीको मुल्यमा उल्लेख्य कमी ल्याउने काम मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उनले जनाए। औषधिसंगै चिकित्सकीय इम्प्लान्ट, मुटुको नशा खोल्ने स्टन्ट, उपकरण आदिको मूल्यमा स्वास्थ्य मन्त्रालयले कमी ल्याउन विभन्न पहल जारी राखेको समेत उनले बताए ।

भारतले जस्तै औषधिको मुल्य निर्धारण गर्न नेपालले समेत पहल गरिरहेको थापाले बताए । सरकारी प्रतिवेदनले नै मुलुकमा औषधि २२ सय प्रतिशतसम्म महंगो रहेको देखाएको छ ।

प्रकाशित: जेष्ठ ९, २०७४ कान्तिपुर