स्वास्थ्य मन्त्रीको निर्देशनमा उपत्यकाका ठूला अस्पतालमा उच्चस्तरिय अनुगमन

काठमाडौं उपत्यकाका तीन जिल्लाका ठूलाअस्पतालमा स्वास्थ्य मन्त्रालयको उच्चस्तरिय टोलीले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा उच्चस्तरिय अनुगमन भएको स्वास्थ्य सचिव डा. किरण रेग्मीले बताइन् । उपत्यकाका ठुला अस्पतालको सेवाको गूणस्तर, जनशक्ति, उपकरण तथा भौतिकपूर्वाधारको अवस्था, सुधार गर्नुपर्ने पक्ष र बजेटको अवस्था बुझ्न अनुगमन गरिएको सचिव डा. रेग्मीको भनाई छ ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालय र वीर अस्पतालको अनुगमन मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीको नेतृत्वमा भएको थियो भने ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालय र पाटन अस्पतालको अनुगन प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको नेतृत्वमा भएको थियो । भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रको अनुगमन मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा भएको थियो ।

अनुगमन पश्चात सचिव डा. रेग्मीको नेतृत्वमा मन्त्रालयमा बृहत बैठक बसेको थियो । सचिव डा. रेग्मीका अनुसार बैठक पश्चात तयार पारिएको प्रतिवेदन स्वास्थ्य मन्त्री पोखरेललाई बुझाएको उनको भनाई छ । अनुगमन टोलीले तीनै जिल्लामा निःशुल्क औषधि अभाव रहेको, अस्पातलहरुको सेवा सुधारमा जोड दिनुपर्ने, सेवाका लागि उपकरण थप गर्नुपर्ने, जनशक्ति व्यवस्थापनमा जोड दिनुपर्ने, अस्पताल सरसफाई ध्यान दिनुपर्ने लगायतका विषयमा प्रतिवेदन पेश गरिएको बताएका छन् । स्वास्थ्य मन्त्री पोखरेलले अनुगमन प्रतिवेदनका आधारमा अस्पतालहरुको सेवा सुधारका लागि तत्काल पहल गर्ने बताए ।

source: swasthya khabar