स्वास्थ्यमन्त्री पोखरेलको पदभार ग्रहण

काठमाडौँ– नवनियुक्त स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पदभार ग्रहण गरेका छन्। तेस्रो पटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका पोखरेल प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्तार गरेको मन्त्रीमण्डलमा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका हुन्।

पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि मन्त्री पोखरेलले नयाँ स‌ंविधानको मर्मअनुसार जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन प्रतिबद्ध रहेको बताए।

स्वास्थ्य मन्त्रालयमा यो उनको तेस्रो कार्यकाल हो। पोखरेल दोस्रो जनआन्दोलन पश्चात् गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा २०६३ साल वैशाख १२ गते पहिलो पटक स्वास्थ्यमन्त्री बनेका थिए।

दोस्रो पटक उनी प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचित सरकारमा पनि स्वास्थ्यमन्त्री थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री थिए। अघिल्ला दुई कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधार गरेका पोखरेलको ट्रयाकरेकर्ड विवादरहित छ।