रोगप्रतिरोधी खोपले बचाउँछ सङ्क्रमण

रोगप्रतिरोधी खोपले बचाउँछ सङ्क्रमण

काठमाडौँ, पुस ५ गते । विभिन्न रोगसँग लड्न खोप आवश्यक पर्ने भएका कारण नेपाल सरकारले रोटा भाइरस, टाइफाइड, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)जस्ता खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।

सानो उमेरमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा रोगसँग लड्न खोप अनिवार्य दिनुपर्छ । चिकित्सकका अनुसार पाँच वर्षको उमेरसम्म बच्चामा रोक प्रतिरोधात्मक क्षमता कम हुने भएकाले विभिन्न सङ्क्रमित रोगले बालबालिकाको जीवन नै खतरामा पार्ने हुँदा त्यसअघि नै पूर्वसावधानी अपनाउनुपर्छ । परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतम भन्नुहुन्छ, “खोप भनेको रोगसँग लड्ने क्षमता वृद्धि गर्ने हो । त्यसैले बालबालिकाले खोप लगाउनुपर्छ । ”

डा. गौतमले रोगको आधारमा नयाँ खोप दिने योजना अगाडि बढाएको जानकारी दिँदै रोटा भाइसरस, टाइफाइड, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) आदि खोप निःशुल्क दिने बताउनुभयो ।

उहाँ थप्नुहुन्छ, “२५ भन्दा बढी खोप छन् तर सबै दिनुपर्छ भन्ने हँुदैन, विदेशतिर दिइन्छ तर नेपालको अवस्था र क्षमता हेरेर खोपको पहिचान गर्नुपर्ने हुन्छ । ” नेपाल सरकारले अहिलेसम्म ११ खोप निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी दिँदै उहाँले अब तीनवटा नयाँ खोप पनि आवश्यक परेको बताउनुभयो । एक पटक खोप निःशुल्क दिएपछि जहिले पनि दिनुपर्ने भएका कारण कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय हुन बाँकी रहेको पनि डा. गौतमले जानकारी दिनुभयो । उहाँले नेपालमा खोपका लागि उचित भण्डारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

डा. गौतमका अनुसार नवजात शिशु जन्मिनासाथ वा जन्मिएको एक महिनाभित्र ‘बीसीजी’ खोप लगाउनुपर्छ । यसले बच्चालाई क्षयरोगबाट बचाउँछ । यो एक पटक लगाए पुग्छ । यस्तै बच्चा जन्मिएको ६, १० र १४ हप्ताको उमेरमा डीपीटी, हेपटाइटिस ‘बी’ र एचआईबी लगाइन्छ । यो खोप एक–एक महिनाको अन्तरमा तीन पटक लगाउनुपर्छ जसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस ‘बी’ र हेमाफिलस ‘बी’बाट हुने मेनेन्जाइटिस र निमोनियाबाट बचाउँछ ।

उहाँले थप्नुभयो, “पोलियो (ओपीभी), आईपीभी, पीसीभी नौ महिनाको उमेरसम्म तीन पटक लगाइसक्नुपर्छ । नौदेखि १५ महिनाभित्र दादुरा÷रुबेलाविरुद्धको खोप लगाउनुपर्छ । ”

रोटा भाइरसविरुद्धको खोप पनि निःशुल्क राख्ने तयारी भएको छ भने झाडापखालाविरुद्धको यो खोप एक वर्षमुनिका बालबालिकालाई दुई मात्रा दिन सकिने डा. गौतमले जानकारी दिनुभयो । जापानिज इन्सेफ्लाइटिस, हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘ए’ १, २ बच्चा जन्मिएको १२ देखि २४ महिनाभित्र दिन सकिन्छ । यसैगरी सरकारले निःशुल्क उपलब्ध नगराएको खोप पनि बालबालिकालाई धेरै महìवको छ । यस्ता खोपले बालबालिकामा विभिन्न प्रकारका रोगसँग लड्ने क्षमता वृद्धि गर्ने बालरोग विशेषज्ञ प्रज्ञा प्रधानले जानकारी दिनुभयो ।

ऐच्छिक खोप

फ्लु भ्याक्सिन छ महिनामा, त्यसपछि सात महिनामा र त्यसपछि वर्षैैपिच्छे दिनुपर्ने बताउँदै डा. प्रधानले रोगविरुद्ध लड्ने क्षमता कम भएका, मुटु रोग, मधुमेह भएका, दमरोग भएका बालबालिकालाई यो खोप लगाउनुपर्ने जानकारी दिनुभयो । मेनेन्जाइटिस गराउने ब्याक्टेरियाविरुद्धको खोप तीन÷तीन महिनाको फरक पारेर बा(लबालिका नौ महिना पुगेपछि दिनुपर्ने बताउँदै डा. प्रधानले यो खोपले मस्तिष्क ज्वरो हुनबाट जोगाउँछ भन्नुभयो ।

अहिले बालबालिकालाई ठेउला वा चिकनपक्स पनि प्रमुख समस्याका रूपमा आइरहेको छ । “यो सरुवा रोग भएका कारण एक जना बच्चालाई हुनेबित्तिकै अरूलाई पनि लाग्ने गर्छ”, उहाँले थप्नुभयो, “यस्ता रोगका लागि भ्यारिसेलाविरुद्धको दुई खोप दिनुपर्छ । पहिलो चरण १२ महिनापछि र तीन÷तीन वर्षको फरकमा दिनुपर्छ । ”
यसैगरी हाडेविरुद्धको खोप बालबालिकामा १५ महिनापछि १८औँ महिनासम्ममा दिन सकिन्छ । सरकारका तर्फबाट पनि निःशुल्क गर्ने तयारीमा रहेको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सरविरुद्ध काम गर्ने डा. प्रधानले जानकारी दिनुभयो ।

यो खोप नौ वर्ष कटेपछिका किशोरीमा दिन सुरु गरिने बताउँदै उहाँले यसलाई २६ वर्षको उमेरसम्म वा शारीरिक सम्पर्क नभएसम्मका लागि दिनुपर्छ । दूषित पानी र खानाको माध्यमबाट सर्ने टाइफाइडविरुद्धको खोप छ महिना, दुई वर्षमा र त्यसपछि प्रत्येक तीन÷तीन वर्षमा लगाउनुपर्छ ।
यलु जोशी / गोरखापत्र

Close Menu