कोरोना जित्नेहरू अहिलेसम्मकै बढी

कोरोना जित्नेहरू अहिलेसम्मकै बढी

  • Post author:
  • Post category:In-Media

काठमाडौँ, जेठ ९ गते । केही दिनयता कोरोना (कोभिड–१९) सङ्क्रमण दर लगभग स्थिर रहे पनि कोरोना जितेर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । त्यस क्रममा शनिबार हालसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार एकै दिन थप आठ हजार ८४८ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप आठ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यो अवधिमा १९ हजार ३५७ जनाको पीसीआर गर्दा आठ हजार ५९१ र ७४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८९ जनामा सङ्क्रमण फेला परेको हो । देशभर कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख पाँच हजार ६४३ जना पुगेको छ । शनिबार काठमाडौँ उपत्यकामा दुई हजार ३१८ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौँ जिल्लामा एक हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना छन् ।

यसैगरी शनिबार १२९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ हजार १५३ पुगेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ८०६ पुगेको छ । मन्त्रालयका अनुसार दुई हजार २५५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यसमध्ये एक हजार ७३२ जना आईसीयू तथा ५२३ जना भेन्टिलेटरमा छन् ।

अघिल्लो दिन दुई हजार २२७ जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा थिए । मन्त्रालयका अनुसार प्रदेश १ मा २२२ आईसीयू र ९२ भेन्टिलेटरमा, प्रदेश २ मा १९१ आईसीयू र ५६ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा ९२२ आईसीयू र ३११ जना भेन्टिलेटर, गण्डकी प्रदेशमा १४३ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा छन् ।