विश्व सूर्तिजन्य पदार्थ रहित दिवस

ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्।


विश्व सूर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि कार्यक्रम बनाइने र बजेट छुट्याइने बताए।

उनले भने, ‘यो कार्यक्रमबाट निस्कने निष्कर्ष मलाई पठाउनुहोस्। म त्यसलाई महानगरको कार्यक्रममा पेश गर्नेछु। आवश्यक परे त्यसका लागि बजेट पनि विनियोजन गर्नेछु।’

हाल ललितपुरको चार वटा क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए। पाटन दरबार स्क्वायर, जावलाखेलको पार्क, लगनखेल र महानगरको क्षेत्र पुल्चोकलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ। यो सँगै ललितपुरको अन्य क्षेत्रहरुलाई पनि धूम्रपान निषेधित क्षेत्र घोषणा गर्दै जाने प्रमुख महर्जनको प्रतिवद्धता छ। नगर प्रहरी र जनप्रतिनिधि सहित सूर्तिजन्य पदार्थ सेवन नगरिदिन आग्रह सहित ललितपुर महानगरपालिका भित्रका घर–घरमा पुग्ने उनले बताए।

‘ऐन आएर मात्र हुँदैन। कार्यान्वयन गर्नुपर्छ। सुरुमै ठूलो उपलब्धि हासिल गर्न नसकेपनि सानोबाट सुरु गर्छौ। यसरी नै हामी अघि बढ्छौँ,’ उनले भने, ‘चुरोट, सूर्तिजन्य पदार्थ नखाइदिनुहोस् भनेर आग्रह गर्दै घर–घरमा पुग्नेछौँ। यो काम सहज होइन। तर हामी गर्छौ।’

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले घर–घरमा पुग्ने अभियान भोलिदेखि नै सुरु हुने जानकारी दिए। यसका लागि पाँच जना नगर प्रहरी खटाइनेछ। ललितपुर महानगरपालिकालाई धूम्रपान रहित क्षेत्र बनाउन आफु प्रतिवद्ध रहेको उनले बताए।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सूर्तिजन्य पदार्थ बेच्न नदिने बताएका छन्। कानूनले भनेका कुरा कार्यान्वयन गर्ने बताउँदै उनले विद्यालय आसपासमा सूर्तिजन्य पदार्थको बिक्रि वितरण रोक्ने बताए।

उनले भने, ‘१५ दिन भित्रमा विद्यालयको छेउछाउमा सूर्तिजन्य पदार्थ बेच्न दिदैनौ। कानूनले भनेका कुरा हामी गर्छौं। नियन्त्रण गर्न समय लाग्छ। तर अप्ठ्यारोलाई पनि सहज बनाउँदै अघि बढ्छौं।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न आफु प्रतिवद्ध रहेको बताइन्। भएका स्रोत साधन र जनशक्तिको प्रयोग गरेर स्वास्थ्यको लक्ष्य प्राप्त गर्न सबै प्रतिवद्ध हुनुपर्ने उनको भनाई छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिराज शर्माले ७५३ वटै स्थानीय निकासँग नसर्ने रोगको नियन्त्रणका कार्यक्रम गर्न समन्वय गरिएको बताए। भीमदत्त नगरपालिका, बारा निजगढ नगरपालिका, बर्दिया नगरपालिका लगायतका प्रमुख, प्रशासकीय अधिकृतसँग छलफल समेत गरिएको उनले जानकारी दिए। महानगरका प्रमुख, उपप्रमुखलाई यो सम्बन्धी अभिूमुखीकरण गर्न तयार रहेको उनले बताए।

वरिष्ठ जनस्वास्थ्य प्रशासक भक्तबहादुर केसीले पटक पटक पत्राचार गरेपनि सूर्य नेपालले चेतावनीमूलक अंकित चित्र कार्यान्वयन नगरेको बताए। स्थानीय तहका सबै निकायसँगको समन्वयमा मात्र नियन्त्रण गर्न सकिने उनले बताए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्रहरी र सम्बन्धित निकायलाई खटाइने बताए। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा नियन्त्रणका लागि आफुहरु तयार भएको उनले उल्लेख गरे।

क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंले चुरोट सेवन गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको बताइन्। चुरोट खान छाड्ने १० मध्ये ९ जना व्यक्तिलाई क्यान्सरबाट बचाउन सकिने उनले बताए। सूर्तिजन्य पदार्थले नसर्ने रोगलाई बढाइरहेको बताउँदै उनले ८५ प्रतिशत फोक्सोको क्यान्सर सूर्तिजन्य पदार्थका कारण हुने गरेको जानकारी दिइन्। चुरोटमा शरीरलाई हानी गर्ने ६ सय वटा केमिकल तत्व हुने र यसले शारीरिक र मानसिक रुपमा असर गर्ने उनले बताइन्।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले खिल्ली चुरोटको बिक्रि वितरण र प्रयोगमा रोक लगाउन आग्रह गरेका छन्। खिल्ली चुरोटको बिक्रि वितरणमा रोक लगाए मात्र किशोरकिशोरीलाई यसबाट केहीसम्म बचाउन सकिने उनले बताए।

source : swasthyakhabar

Leave a Reply